पहिरोका कारण ६ परिवार विस्थापित

पहिरोका कारण ६ परिवार विस्थापित

बेनी : म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन्। छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन्। 

घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको छ। छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको छ। 

छिपछिपेमा छाप जाने मोटरबाटोबाट पहिरो आएपछि विस्थापित भएका हुन्। सिद्धार्थ आमा समूह, परिवर्तन युवा क्लब च्युरीबोटका पदाधिकारी, सदस्य र स्थानीयवासीले विस्थापितका घरका सामान सारेका छन्। 

यसैबीच म्याग्दीको मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुलमा आवतजावत बन्द गरिएको छ।

दुखुखोलामा आएको बाढीले कटान गरेर पुल, पिलर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावियन पर्खाल बगाएको छ। पुलको मालिकातर्फको पिलरको जगभन्दा गहिरो भएर खोला बग्न थालेको छ।

साउन २०, २०७९ शुक्रबार ०९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।