२०७४ सालको निर्वाचनयता २७ लाख ५४ हजार मतदाता थपिए

काठमाडौं : २०७४ सालको आम निर्वाचनयता नेपालमा २७ लाख मतदाता थपिएका छन्। निर्वाचन आयोगले हिजो दिएको तथ्यांकअनुसार २७ लाख ५४ हजार ३०१ मतदाता थपिएका छन्।
आयोगका अनुसार २०७४ सालको संघीय र प्रदेश सभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए। पछिल्लो पाँच वर्षमा झन्डै १८ प्रतिशत मतदाता थपिएका छन्।
वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका बेला सार्वजनिक गरिएको अन्तिम नामावलीमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए।
स्थानीय तह निर्वाचनपछि गत असार १ गतेयता फेरि आयोगले मतदाता परिचयपत्र दिन थालेको थियो।
वैशाख ३० को स्थानीय निर्वाचनपछि आजसम्म चार लाख ४८ हजार ५१६ मतदाता थपिएका छन्। योसँगै अहिले एक करोड ८१ लाख ८२ हजार २३९ मतदाता पुगेका छन्।
यो नै अन्तिम नामावली भने नभएको आयोगले जनाएको छ। असारयता आफ्नै जिल्लामा मतदाता नामावली लेखाउने मतदाता चार लाख १२ हजार ७६६ छन्। अनलाइनबाट फर्म भर्नेहरू ३५ हजार ७५० जना छन्। उनीहरूको विवरण पनि आ-आफ्नै जिल्लामा पठाइने आयोगले बताएको छ।
साउन २०, २०७९ शुक्रबार ०८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।