मनसुनको असर कम हुँदै, अब छिटपुट मात्रै वर्षा

मनसुनको असर कम हुँदै, अब छिटपुट मात्रै वर्षा

काठमाडौं :  मनसुनको असर विस्तारै कम हुँदै गएकोले अब धेरैजसो स्थानमा छिटपुट मात्र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पानी पार्ने प्रणाली मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिण छ।

पानी पार्ने प्रणाली नेपालभन्दा टाढा भएकाले छिटपुट वर्षा हुने, एक दुई स्थानमा भारी वर्षा पनि हुने यद्यपि तुलनात्मक रूपमा कम वर्षा हुने महाशाखाले जनाएको छ।

आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार अब अहिले ३-४ दिन अगाडिको जस्तो झरी र देसैभरि वर्षा हुँदैन, एक दुई स्थानमा छिटपुट वर्षा हुन्छ।

साउन २०, २०७९ शुक्रबार ०७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।