सुर्ती गोदाममा प्रहरी छापा, ३० हजार किलोसहित चार जना पक्राउ

काठमाडौँ : प्रहरीले सुर्ती गोदाममा छापा मारेर राजश्व छलेर सुर्ती ल्याएको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
गैर कानुनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा हानेको हो।
प्रहरीले पेप्सीकोलाबाट पोस्टराज गौतमलाई र दिनेश चौधरीलाई कुलेश्वरबाट पक्राउ गरेको थियो। अनुसन्धान गर्दा भारतबाट राजस्व छली गरी ल्याएको सुर्ती जन्य कच्चा पदार्थ अरविन्द अग्रवाल र सुरेश पोख्रेलले सञ्चालन गर्ने ललितपुर खोकना स्थित न्यु शुभ लक्ष्मी सुर्ती उद्योग तथा उपत्यकाका विभिन्न स्थानमा भण्डारण गरी राखेको भन्ने खुलेको प्रहरीको दाबी छ।
राजस्व छलीसँग जोडिएपछि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नख्खु स्थित फूलबारी मार्ग, भैंसेपाटी स्थित पञ्चकन्या मार्गमा रहेको २ वटा गोदाम र अफिस तथा खोकनामा रहेको श्री न्यु शुभ लक्ष्मी सुर्ती उद्योगमा छापा मारेको थियो।
छापा मार्दा राजश्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा पदार्थ भण्डारण गरी राखेको गोदाम राजस्व अनुसन्धान विभाग र स्थानीय जनप्रतिनिधिको रोहवरमा सिल गरी सञ्चालक समेतलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।
गोदाम र कारखानाबाट तयारी सुर्तीजन्य ८ हजार किलो र कच्चा सुर्ती २० हजार किलो फेला परेको थियो। पोस्टराज गौतम, सुरेश पोख्रेल, दिनेश चौधरी र अरविन्द अग्रवाल पक्राउ परेका छन्।
साउन २०, २०७९ शुक्रबार ०६:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।