जनार्दन अर्थमा दोहोरिएपछि बिदामा बसेका सचिव मरासिनीको सरुवा, पुष्करलाई जिम्मेवारी

काठमाडौँ : संसदीय विशेष समितिबाट सफाइ पाएपछि अर्थमन्त्रीमा पुन जनार्दन शर्मा दोहोरिएपछि बिदामा बसेका मधु मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरे पनि अर्थमा नयाँ सचिव भने ल्याएको छैन।
नयाँ सचिव नआएसम्म राजस्व सचिव रहेका कृष्णहरि पुष्करले सचिवको समेत जिम्मेवारी पाएका छन्। बजेट निर्माणकोक्रममा अनधिकृत व्यक्ति मन्त्रालयमा गएर करको दर चलाएको भन्दै शर्मा विवादमा आएपछि मरासिनी बिदामा बसेका थिए।
संसद्ले विशेष समिति गठन गरेपछि मन्त्रालय फर्किएका उनले विशेष समितिको बयानमा अनधिकृत व्यक्ति मन्त्रालयमा नआएको तर यही प्रसङ्गमा सामाजिक सञ्जालमा आफ्नो आलोचना भएपछि बिदामा बसेको दाबी गरेका थिए।
उनीसहितको बयान र अस्पष्ट सिसिटिभी फुटेजलाई आधार बनाएर संसदीय विशेष समितिले शर्मामाथि लागेको आरोप पुष्टि हुन नसकेको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई पुन अर्थमन्त्रीमै नियुक्त गरेका थिए।
शर्मा नियुक्त भएपछि मरासिनी आइतबारदेखि बिदामा बसेका थिए। उनी शर्माको स्वागतको बेलामा पनि उपस्थित भएका थिएनन्।
साउन १९, २०७९ बिहीबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।