इन्डोनेसियामा उत्पादित वुलिङ ईभी नेपाल भित्र्याउने तयारीमा बज्र ग्रुप

काठमाडौँ : बज्र ग्रुपले दसैँसम्ममा नेपाली बजारमा इन्डोनेसियामा निर्मित वुलिङ ब्रान्डको ईभी भित्र्याउने तयारी गरेको छ। ग्रुप ३१ वर्षमा प्रवेश गरेको अवसरमा यस्तो घोषणा गरेको हो।
बज्र ग्रुपका म्यानेजिङ डाइरेक्टर प्रकाश बज्राचार्यले अमेरिकी कम्पनी जनरल मोटर्सको सब्सिडी कम्पनीको रूपमा रहेको वुलिङ ईभी नेपाली बजारमा ल्याउने घोषणा गरेका हुन्।
सुरुवातमा एउटा सानो पसलबाट सुरुवात गरेको व्यवसाय कोहलर लगायतका स्यानिटरी हुँदै सनसिटी, बज्र साङ्ग्रिला र मेरो सिटी जस्ता अपार्टमेन्टको व्यवसायसम्म फैलिएको उनले बताए।
उनले कोभिडको समयमा मास्कको माग अझै बढ्दै गएको समयमा नेपालमै म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरी बज्र मास्क बजारमा उपलब्ध गराएको र पोस्ट कोभिड पश्चात् इलेक्ट्रिक सवारीको माग बढ्दै गएको अवस्थामा बोस कम्पनीको मोटरयुक्त चीनमा उत्पादित लेभ्निङका टु ह्विलर र थ्री ह्विलर बजारमा उपलब्ध गराइरहेको उनले बताए।
नेपाली बजारमा उपलब्ध लेभ्निङको थ्री ह्विलर अशक्तहरूका लागि निकै नै प्रभावकारी भएको उनले बताए।
पहिले स्यानिटरी, त्यसपछि हाउजिङ एन्ड अपार्टमेन्टको व्यवसाय पश्चात् मास्क र अब इलेक्ट्रिक सवारीको व्यवसायमा लाग्ने योजनाका साथ ग्रुपले तयारी गरिरहेको उनले बताए। बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले हाल लेभ्निङ इलेक्ट्रिक स्कुटरको बिक्री–वितरण गरिरहेको छ। वुलिङ ईभीको कारोबार पनि ईभी नेपाल मोटर्सले नै गर्नेछ।
नेपाली बजारमा वुलिङ ईभीका २०० किलोमिटर र ३०० किलोमिटर रेन्ज तथा ५० किलोवाट क्षमता भएको र १०० किलोमिटर प्रतिघण्टाको स्पिडमा जान सक्ने फोर सिटर उपलब्ध गराउने बज्राचार्यले बताए।
आधारभूत आवश्यकतालाई पुरा गर्न सक्ने र ग्राहकले आफ्नो खर्चले धान्न सक्ने इलेक्ट्रिक कार नेपाली बजारमा उपलब्ध गराउने उनको भनाइ छ।
साउन १९, २०७९ बिहीबार ११:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।