सप्तरीमा करेन्ट लागेर गर्भवती बुहारी, ससूरासहित तीन जनाको मृत्यु

सप्तरीः बुधबार राति करेन्ट लागेर ससूरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन्।
उनीहरू ससूरा–बुहारी हुन्। ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो।
अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो। दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए।
यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो।
साउन १९, २०७९ बिहीबार ०७:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।