कर बढाएको भन्दै विरोधमा उत्रिए गण्डकीका यातायात व्यवसायी

पोखरा : गण्डकी प्रदेश सरकारले कर वृद्धि गरेको भन्दै पोखराका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। प्रदेश सरकारले कर वृद्धि गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी आन्दोलनमा उत्रिएको हो।
मूल्यवृद्धिबाट पीडित भइरहेको अवस्थामा सरकारले गैर जिम्मेवार भई कर बढाएर जनताको ढाड सेक्न लागेको भन्दै महासङ्घले २२ साउनदेखि प्रदेशभरका सार्वजनिक गाडी ग्यारेजमै थन्काउने घोषणा गरेको छ।
गण्डकी प्रदेशमा चालु आर्थिक वर्ष २०७९।०८० देखि सवारी क्षमता अनुसार कर ४ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म वृद्धि गरिएको छ। कोरोनाबाट मारमा परेको व्यवसाय लयमा फर्किँदै गरेको अवस्थामा प्रदेश सरकारले एकाएक निजी तथा सार्वजनिक सवारी साधनमा अन्यायपूर्ण तवरले कर वृद्धि गरेको व्यवसायीहरूले दाबी छ।
आफ्ना मागहरू केही दिन अघि प्रदेश सरकार समक्ष राखे पनि सरकारले आफूहरूको मागको वास्ता नगरेको भन्दै बाध्य भएर सार्वजनिक सवारी साधनहरू घर ग्यारेजमा थन्काएर आन्दोलन गरिने महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ।
गडीहरू घर-ग्यारेजमा थन्काएर शान्तिपूर्ण आन्दोलन गर्दा समेत सरकारले आफूहरूको मागलाई बेवास्ता गरे अनिश्चित प्रदेश बन्दको घोषणा गर्ने चेतावनी महासङ्घले दिएको छ। महासङ्घले आन्दोलनमा निजी तथा पर्यटन सवारी साधनहरू पनि घर ग्यारेजमा राखेर करको विरुद्धमा गरिने आफूहरूको आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ।
आन्दोलनबाट पर्न जाने असुविधाप्रति क्षमा माग्दै महासङ्घले निजी, सार्वजनिक, पर्यटन सवारी साधन सञ्चालन गर्ने सम्पूर्णलाई आन्दोलनमा सहभागी हुन महासङ्घ प्रदेशका अध्यक्ष केदार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रदेश सरकाले नयाँ आर्थिक वर्षको साउन १ देखि निजी तथा भाडाका सवारीका साधनहरूमा २ सय प्रतिशत करको जरिवाना लिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको जनस्तरबाट चर्को आलोचना भएपछि फिर्ता लिएर आजदेखि सवारीका साधनको जरिवाना २० प्रतिशत मात्र लिने निर्णय गरेको थियो।
साउन १८, २०७९ बुधबार २०:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।