सुन चोरीमा संलग्न आरोपी पक्राउ गर्न प्रहरीले अन्तर्राष्ट्रिय उडानै रोक्यो

काठमाडौँ : भारतको मुम्बइमा जान तयार भएको नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजको १:१० को फ्लाइटमा पक्राउ गर्नै पर्ने व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय कैलालीको पत्र आए लगत्तै त्रिभुवन विमानस्थल सुरक्षा गार्डको कार्यालयमा उडान रोक्न आदेश आयो।
काठमाडौँबाट भारतको मुम्बई जाने सेड्युलमा रहेको उडान रोक्न आदेश दिएको थियो प्रहरीको विशेष ब्युरोले जो आतङ्कवाद र अन्तर्राष्ट्रिय अपराधको अनुसन्धान गर्छ। निर्देशन प्राप्त भए लगत्तै विमानस्थलको प्रहरीले गेट लाग्ने तयारीमा रहेको प्लेन रोक्यो सुरक्षा कारण देखाउँदै।
'जहाजमा शङ्कास्पद व्यक्ति भएको' भनियो। पछि आतङ्कवादी रहेकोसम्म सूचना चुहिए। प्रहरीले सबै यात्रुको जाँच गर्दै गएर कैलालीका सन्तोष लामिछाने र उनीसँगै रहेकी श्रीमतीलाई नियन्त्रणमा लियो।
जाँच सकिएकाले अन्य यात्रुका लागि मुम्बई जाने बाटो खुल्यो। विमानस्थल प्रहरीले खोजेको पुरुषलाई मात्र थियो। उनी थिए सन्तोष। उनी श्रीमतीसहित मुम्बई जान लागेका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि उनको श्रीमती म पनि जान्न भन्दै प्रहरी कार्यालयमै आइन्।
विमानस्थल प्रहरीले आवश्यक प्रक्रिया पुरा गराएर सन्तोषलाई प्रधान प्रधान कार्यालयको टोलीलाई बुझाइदियो। अब प्रहरी प्रधान कार्यालयले पत्र पठाउने कैलाली प्रहरीकोमा उनलाई पठाउँदै छ।
प्रहरी प्रवक्ता टेकप्रसाद राई कैलाली प्रहरीबाट नेपाल एयरको विमानबाट शङ्कास्पद व्यक्ति मुम्बई जान लागेको भन्दै उनलाई पक्राउ गर्न पत्र आएको थियो। त्यही पत्रको आधारमा विमानका यात्रुको जाँच गरेर उनलाई पक्राउ गरिएको बताए।
'आतङ्कवादी' को सूचनामा पक्राउ परेका व्यक्ति सुन व्यापारी
नेपाल एयरलाइन्सको विमानमा आतङ्कवादी भएको आशङ्कामा २ जना नियन्त्रणमा, अनुसन्धान गर्दै विशेष ब्युरो
उनी सुन कारोबारमा संलग्न रहेको र उनीबारे कैलाली प्रहरीले सुन चोरीमा अनुसन्धान गरिरहेको र उनी श्रीमतीसहित देशबाट बाहिर जान लागेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताए।
आतङ्कवादी नै रहेको भन्ने सूचना आएको थियो त भन्ने जिज्ञासामा उनले भने' अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको विमान रोक्दा यस्तो हल्ला फैलिएको हुनसक्छ। तर अहिलेसम्म उनी सुन चोरीमा संलग्न रहेको देखिएको छ। हामी उनलाई कैलाली प्रहरीकोमा पठाउँदै छौँ।'
शङ्कास्पद व्यक्तिको पक्राउसँगै साढे एक बजे उडान तालिका रहेको विमान करिब २ घण्टा ढिला उडेको थियो।
साउन १८, २०७९ बुधबार १७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।