
नेपाल एयरलाइन्सको विमानमा आतङ्कवादी भएको आशङ्कामा २ जना नियन्त्रणमा, अनुसन्धान गर्दै विशेष ब्युरो

काठमाडौँ : भारतको मुम्बई उड्न तयार भइसकेको जहाज रोकेर प्रहरीको विशेष ब्युरोले आतङ्कवादी भएको आशङ्कामा २ जनालाई नियन्त्रणमा लिएको छ। उडानको सबै प्रक्रिया पुरा गरेर उड्न विमानको ढोका लगाउनेक्रममा एक्कासि सुरक्षाकर्मीले विमान रोकेको थियो।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हेडक्वार्टर जिल्ला प्रहरी कार्यालय कैलालीबाट संवेदनशील सूचना आए लगत्तै विमानको उडान रोकिएको थियो। कैलालीबाट विमानमा २ जना शङ्कास्पद व्यक्ति चढेको र उनीहरू आतङ्कवादी सङ्गठनमा आबद्ध रहेको भन्ने सूचना आएको थियो।
सूचना लगत्तै आतङ्कवाद र अन्तर्राष्ट्रिय अपराधको अनुसन्धान गर्ने प्रहरीको विशेष ब्युरोको टिम खटिएर सबै यात्रुको चेकजाँच गर्दा शङ्का लागेको भन्दै एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।
ब्युरोले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ र उनीहरूको आबद्धताबारे अनुसन्धान गरिरहेको विमास्थलस्रोतले बतायो। नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाज बुधवार १:१० मा काठमाडौँबाट भारतको मुम्बई जाने सेड्युल थियो।
यस अगाडि काठमाडौँ विमानस्थलबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरणमा परिसकेको छ। आतंकबादीहरुले सो विमान अपहरण गरेर अफगानिस्तान पूर्याएर भारतको हिरासतमा रहेका आफ्ना नेता छुटाएका थिए। पछिल्लो समय विमानस्थलको सुरक्षामा नेपाल प्रहरीको स्पेसल टाक्सफोर्सको सुरक्षाकर्मी परिचालन गरिएको छ।
साउन १८, २०७९ बुधबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।