श्रीमान् विरुद्ध बलात्कारको उजुरी

श्रीमान् विरुद्ध बलात्कारको उजुरी

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका-१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमान विरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छिन्।

वर्षाकुमारीले श्रीमान् मोहन चौधरीले आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी हुन्।

मोहनले साउन १५ गतेदेखि पटक-पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको भन्दै वर्षाले कारबाहीको माग गरेकी छन्। गत साउन १४ गते राति मदिरा पिएर आएका मोहनले कुटपिट गरेको जोहेरीमा उल्लेख छ।

श्रीमानले घरखर्च नदिने, यातना दिने र सासू जागेश्वरी चौधरी एवं ससुराले समेत बेवास्ता गर्दा आफ्नो बच्चाको लालनपालनमा समस्या भोगेको जाहेरीमा उल्लेख छ।

उजुरी दिने वर्षा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख चौधरीकी बुहारी हुन्। वर्षाले सासुलाई समेत झिकाएर छानबिनको माग गरेकी छन्।

वर्षाले विवाहित र दुई सन्तान भए पनि आफू टुहुरी र अविवाहित भएको भन्दै झुक्याएर मोहनसँग बिहे गरेको पारिवारले जनाएको छ।

पछि विवाहित र दुई सन्तानकी आमा भएको थाहा भएपछि उनीहरूबीच असमझदारी बढ्दै गएको थियो। उनले पहिलो श्रीमानसँग सम्बन्धविच्छेद समेत नगरेको बताइएको छ।

साउन १८, २०७९ बुधबार १२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।