सप्तकोसी कटान : राहत र उद्धारमा जुट्न सरकारको निर्देशन, नजिकका नागरिकलाई सार्न थालियो

काठमाडौं : सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिकाका बस्तीमा कटान गरेपछि त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।
सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ।
नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
कटान क्षेत्रका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेका छन्।
गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गरेका छन्। मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उनीसँग छलफल गरिएको हो।
गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायव महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका हुन्।
कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने बताइएको छ। कटानलाई रोकेर पनि त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरण आवश्यक छ।
केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन्।
साउन १८, २०७९ बुधबार १०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।