सिटी क्याम्पस बुटवलमा अखिल क्रान्तिकारीको चरणबद्ध आन्दोलन

सिटी क्याम्पस बुटवलमा अखिल क्रान्तिकारीको चरणबद्ध आन्दोलन

बुटवल : विप्लव निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत पर्ने सिटी क्याम्पस बुटवलमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।

आज पत्रकार सम्मेलन गर्दै विद्यार्थीका मागका सम्बन्धमा सिटी क्याम्पस गम्भीर नभएको भन्दै माग पूरा नहुँदासम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा अखिल (क्रान्तिकारी)ले गरेको छ।

अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश संयोजक विज्ञान क्षेत्रीले सिटी क्याम्पस सुधार गर्नका लागि विद्यार्थी पक्षसँग भएको ९ बुँदे सहमति रजिष्ट्रार, डिन र विश्वविद्यालयले पालना नगरेको र गैरजिम्मेवार भएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको बताए।

९ बुँदे सहमतिमा शैक्षिक विकासका माग सम्बोधन गर्ने, कोभिड महामारी समयको सेमेष्टर शुल्क सम्बन्धमा प्रयोगात्मक शुल्क समायोजन गर्ने, प्रयोगशाला, यातायातको व्यवस्थित व्यवस्था गर्ने, केही शिक्षकद्वारा विद्यार्थीमाथि अमर्यादित तथा विभिन्न बहानामा मानसिक यातना दिएको भन्दै अध्ययन कार्यदल गठन गर्ने जस्ता सहमति भएको थियो।

संयोजक क्षेत्रले सिटी क्याम्पसमा अध्यापन गराउने विवादित २ उपप्राध्यापकलाई बर्खास्त गर्नुपर्नेमा रजिष्ट्रारले उनीहरुलाई संरक्षण गरेको बताए।

साउन १७, २०७९ मंगलबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।