पानीको सतह बढेपछि गण्डक बाँधका सबै ढोका खोलियो

पानीको सतह बढेपछि गण्डक बाँधका सबै ढोका खोलियो

बुटवल : नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँधका सबै ३६ वटै ढोका खोलिएको छ। 

दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पानीको सतह बढेपछि पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो। गण्डक बाँधको ढोकाको चाबी सधैं भारतले राख्ने गरेको छ।

देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीको सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र (तटीय क्षेत्र)मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो।

पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ। ढोका नखोले नवलपरासीका ४० बढी गाउँ डुबानमा पर्छन्। नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ।

प्रतिसेकेण्ड साढे ८ लाख क्युसेक बेगको पानी धान्ने क्षमता गण्डक बाँधको हो। पुरानो बाँध भएका कारण संरचनाहरु जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्युसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका भूआर्जन अधिकारी अमित खड्काले बताए।

३ लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिन्छ। अहिले २ लाख ९७ हजार प्रतिसेकेण्डको बेगले पानी बगेको छ। पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने उनले बताए।

यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरुको व्यवस्थापन र उद्धारका लागि सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।

साउन १७, २०७९ मंगलबार १६:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।