बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

काठमाडौँ : बुटवल उपमहानगरपालिका बम घाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ।
हालै सम्पन्न कम्पनीको विशेष साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताए।
करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधा सम्पन्न होटेल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरू निर्माण हुनेछन्।
'केबलकारको तल्लो स्टेसनसम्म पुग्ने करिब चार सय मिटर पहुँच मार्गको निर्माण कार्य सम्पन्न भएको छ। तल्लो स्टेसनको सव–इस्टक्चरको निर्माण कार्य करिब सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडी बढिरहेको छ। नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ। बाँकी रहेको टावरको कार्य अगाडी बढिरहेको छ,' उनले बताए।
उनले माथिल्लो स्टेसनमा सव–इस्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरूको आयात गर्ने काम अगाडि बढेको बताएका थिए। माथिल्लो स्टेसनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य केबलकार परियोजना सँग–सँगै सम्पन्न गर्नुपर्ने भएकोले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिम काम गर्न निर्देशन दिइएको उनले जानकारी दिएका थिए।
ढकालले माथिल्लो स्टेसनमा प्रस्तावित होटेललाई अन्तर्राष्ट्रिय चेन–होटेलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदाताहरूसँग छलफल भइरहेको जानकारी गराएका थिए। केबलकारको २०७७ फागुन १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।
साउन १७, २०७९ मंगलबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।