खोटाङको भूकम्पले दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति

खोटाङको भूकम्पले दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति

खोटाङः आइतबार बिहान ८ बजेर १३ मिनेटमा गएको भूकम्पले खोटाङमा क्षति गरेको छ। ६ म्याग्निच्युडको भूकम्पले दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन कार्यालयले जनाएको छ।

साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरूपमा भत्किएको छ। अन्य घर चर्किएर क्षति भएको छ।

यस्तै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले भूकम्पको ‘इपिसेन्टर’ साकेलामा हालसम्म ४६४ घरमा क्षति भएको जानकारी दिए। उनका अनुसार बाँझेच्यानडाँडामा १३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा १०५ र भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति भएको हो।

भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा ६ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक–एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेंसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले जानकारी दिए।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो नेपालमा हालसम्मकै शक्तिशाली भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिकामा भूकम्पको केन्द्र भएपछि जिल्लाबासी त्रसित बनेका छन्।

भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जाने क्रम जारी रहेकाले सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेर आग्रह गरिएको प्रजिअ सेढाईँले बताए।

साउन १७, २०७९ मंगलबार १०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।