पहिरोले घर बगाउँदा दुई जनाको मृत्य, तीन बेपत्ता

पहिरोले घर बगाउँदा दुई जनाको मृत्य, तीन बेपत्ता
साङ्केतिक तस्बिर

म्याग्दीः मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ। यस्तै तीन जना बेपत्ता भएका छन्।

घमबहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको हो। घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ।
 
गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन्। घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता छन्। स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए। घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ।

साउन १७, २०७९ मंगलबार ०९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।