भ्रातृ संस्थालाई चुस्तरूपमा अघि बढाऔँ: गगन थापा

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भ्रातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन्। काठमाडौं महानगरपालिका–८ एकाई समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भ्रातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए।
संसद्मा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको पनि बताए।
बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले नेतृत्त्वले पार्टीभित्रै रहेर पनि फरकमत राख्ने नेता, कार्यकर्तालाई समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।
यस्तै कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका–८ का वडाअध्यक्ष आशामान सङ्गतले फोहरमाथि महानगरभित्रै राजनीति भइरहेको र सरकारले नै फोहर व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्ने बताए।
साउन १७, २०७९ मंगलबार ०८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।