पोखरामा पहिराले घर पुरियो, एक जनाको मृत्यु, अर्को घाइते

पोखराः आज बिहान पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा पहिराले घर पुरिएको छ। त्यहाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
राति करिब १ बजेतिर अविरल वर्षापछि घरमाथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किएको हो। कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
उनका अनुसार घटनामा घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते भएकी छिन्। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था मध्यम रहेको बताइएको छ।
घटनामा सुनिताको छोरी १० वर्षीया सिम्रन सुनार भने सकुशल रहेको प्रनाउ तिवारीले जानकारी दिए। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो।
पोखरामा गए रातिदेखि अहिले बिहानसम्म पनि वर्षा भइरहेको छ।
साउन १६, २०७९ सोमबार ०७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।