ट्रक किनेको पैसा तिर्न नसक्ने देखेपछि आफ्नै साथीको हत्या

ट्रक किनेको पैसा तिर्न नसक्ने देखेपछि आफ्नै साथीको हत्या

रुपन्देहीः गाडी किनेको पैसा दिने भन्दै फकाइफुलाइ अर्घाखाँची पुर्याएर एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्। बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन्।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो। उनी पाँच दिनदेखि सम्पर्कविहीन थिए। अर्घाखाँची  पाणिनी–२ मा पर्ने डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा उनको शव भेटिएको हो।

हत्याको अभियोगमा पाणिनि–२ घर भई हाल सैनामैना नगरपालिका–६ कलौनी बस्ने ४३ वर्षीय गौतमलाई प्रहरीले पक्राउ गरेको छ। गौतमले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ।

गौतमलाई नेपाल भारत सिमाना बेलहियाबाट आइतबार पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार गौतमलाई बिक्री गरेको लु१ख ७७८१ नंको ट्रक पास गर्न भनी हिँडे पनि सोही दिनदेखि पाण्डे सम्पर्कमा नआएपछि छोरी शीलाले प्रहरीमा उजुरी गरेकी थिइन्।

प्रहरीका अनुसार गौतमले पाण्डेको नाममा रहेको लु१ख ७७८१ नंको ट्रक रु १६ लाख मूल्य कायम गरेपछि दिने सर्तमा नामसारी गरेकामा उक्त पैसा र घर निर्माण गर्दाको ऋण, मोटरपार्टस् सञ्चालन गर्दा लागेको ऋणका कारण ट्रकको पैसा बुझाउन नसकिने देखेपछि हत्या गर्ने योजना बनाएका बताइएको छ।

गौतमले साउन ९ गते पाण्डेलाई अर्घाखाँचीस्थित घरमा गएर पैसा दिने भन्दै लिएर गई भोलिपल्ट घरबाट कालिज मार्न भनी जङ्गलमा लगि पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरेको र सोही स्थानमा रहेको भीरबाट तल खसालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रमुख प्रहरी नायब उपरीक्षक केसीले बताए।

आरोपी गौतमले हत्या गर्न प्रयोग गरेको फलामको रड जय मोटरपार्टस्मा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको छ। पाण्डेको शव सडकदेखि करिब आठ सय मिटर दूरीमा सिद्ध सामुदायिक वनको नेवारे खोला नजिक शरीरमा भित्री टिसर्ट र भित्री बस्त्र मात्रै लगाएको अवस्थामा भेटिएको थियो।

अभियुक्तले मृतकको नामबाट आफ्नो नाममा गाडी पास गरी रकम समेत नदिएकाले उक्त गाडी समेत बरामद गरी परिवारलाई दिनुपर्ने मृतकका दाजु तेजबहादुरको भनाइ छ। साथै मृतकका छोराछोरीको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्योपचारको व्यवस्था गराई क्षतिपूर्तिसमेत दिलाउन परिवारको माग छ।

साउन १६, २०७९ सोमबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।