सञ्चालक भागेको गौतम सहकारीको सम्पत्ति सिल गर्न प्रहरीलाई र खाता रोक्का गर्न राष्ट्र बैङ्कलाई पत्र पठायो विभागले

काठमाडौँ : सर्वसाधारण बचतकर्ताको साढे पाँच अर्ब बढी बचत रहेको गौतम श्री बहुउद्देश्यीय सहकारीका सञ्चालक फरार भएपछि सहकारी विभागले सहकारीको खाता रोक्का गर्न राष्ट्र बैङ्कलाई पत्र पठाएको छ।
काठमाडौँ महानगरपालिका वडा न. १४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले रकम फिर्ता माग्दै निवेदन दिएपछि विभागले खाता रोक्का राख्न पत्र पठाएको हो।
विभागले सहकारीको कार्यालय, विभिन्न स्थानमा रहेका सेवा केन्द्र, डिपार्टमेन्टल स्टोर्स, गोदाममा रहेका सम्पूर्ण चल, अचल सम्पत्ति विभागको अनुमति बिना खोल्न, चलाउन र सरसामान बिक्री वितरण गर्न नपाउने गरी सुरक्षा दिन प्रहरी प्रधान कार्यालयमा समेत पत्र पठाएको छ।
पत्रमा सिलबन्दी लाहाछाप गरेर त्यसको जानकारी गराउन र कर्मचारीलाई विभागमा उपस्थित गराउन भनिएको छ। विभागका अनुसार आइतबारसम्म विभागमा १ हजार ७५ जना पीडित बचतकर्ताले उजुरी दिएका छन्। त्यसैको आधारमा संस्थाका सञ्चालक तथा व्यवस्थापकहरूको बैङ्क खाता रोक्का राख्न राष्ट्र बैङ्क मार्फत सबै बैङ्क तथा वित्तीय संस्थाहरूलाई अनुरोध गरी पठाइएको विभागले जानकारी दिएको छ।
साउन १५, २०७९ आइतबार २२:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।