दोस्रो हाफमा सात गोल खाएर ८-० स्कोरले भारतसँग हार्यो नेपाल

काठमाडौँ : साफ यू-२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलको हाफसम्म नेपाली टिम केवल एक गोलले पछाडि थिए। तर दोस्रो हाफमा सम्हालिन नसक्दा गोल अन्तर ८-० मा पुग्यो। र, भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार साँझ भएको प्रतियोगितामा नेपाल भारतसँग ८-० को लज्जास्पद अन्तरले पराजित भयो।
भारतको तर्फबाट पार्थिव सुन्दर गोगोइले दुई गोल गरेका थिए भने टाइसन सिंह, हिमांशु जान्ग्रा, टन्कधर बाग, मोहम्मद सुहिब, सुभो पाउलले १/१ गोल गरेर सङ्ख्या ८ पूर्याए। भारतीय टिमसामु नेपाली टिम निकै निरीह देखिएको थियो।
भारतले ३२औँ मिनेटमा गोल गरेर अग्रता लिएको थियो। नेपालका गोलरक्षक ईश्वर गुरुङको हातबाट फुस्किएको बललाई हेडरमार्फत भारतीय खेलाडीले गोल गरेका थिए।
पहिलो हाफ १-० मा सकियो। दोस्रो हाफ सकिदा स्कोर ८-० भयो। आइतबारको हारसँगै नेपाल अङ्क तालिकामा तेस्रो स्थानमा पुगेको छ। ३ खेलमा ९ अङ्कका साथ बङ्गलादेश शीर्ष स्थानमा छ। नेपाल र भारतको समान ३ खेलमा ६ अङ्क भए पनि हेड टु हेडमा भारत अघि छ। १-१ अङ्क जोडेका मालदिभ्स र श्रीलङ्का प्रतियोगिताबाट बाहिरिइसकेका छन्।
साउन १५, २०७९ आइतबार २१:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।