कैलाली भन्सारले सङ्कलन गर्यो साढे नौ अर्ब राजश्व

कैलालीः आर्थिक वर्ष २०७८/७९ मा कैलाली भन्सार कार्यालयले नौ अर्ब ५८ करोड २६ लाख राजश्व सङ्कलन गरेको छ। कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार यो लक्ष्यभन्दा कम सङ्कलन भएको हो।
भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि रु ११ अर्ब ८२ करोड ३९ लाख राजश्व सङ्कलनको लक्ष्य राखेको थियो। सङ्कलित राजश्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो।
कार्यालयका अनुसार भन्सार महशुलतर्फ रु तीन अर्ब ५६ करोड ५५ लाख, मूल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब ८६ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २३ करोड ९९ लाख र अन्य शीर्षकतर्फ रु एक अर्ब ९१ लाख ३१ लाख राजश्व असुली भएको छ।
सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब १० करोड १५ लाख, भन्सार महशुलतर्फ रु पाँच अर्ब २२ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २८ करोड ७६ लाख र अन्य शीर्षकतर्फ रु तीन अर्ब २१ करोड ६ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो।
गत माघमा सबैभन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गत वर्ष साउनमा ८९ दशमलब आठ प्रतिशत राजश्व असुली भएको हो।
कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन, खयर कच्छ, पिना, भटमासको तेललगायत छन्। आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, मोटर पाट्र्सका साथै चामल, मकै, तोरी, तरकारीलगायत खाद्य सामग्री छन्।
साउन १५, २०७९ आइतबार १२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।