आफ्नै भाइको पाँच लाख पचाउन लुटको नाटक रच्ने फन्दामा

आफ्नै भाइको पाँच लाख पचाउन लुटको नाटक रच्ने फन्दामा

महोत्तरीः आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन्। जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका अरुणकुमार चौधरी आफैँले रचेको लुटपाटको योजनामा आफैँ फन्दामा परेका हुन्।

भाइको पाँच लाख रुपैयाँ लुट्ने चौधरीको सपना प्रहरी अनुसन्धानले अन्त्य गरिदिएको हो। उनी अहिले प्रहरी हिरासतमा छन्।

गत शुक्रबार साँझ गौशाला बजारबाट घर फर्कँदै गरेका चौधरीले गौशाला–सम्सी सडकखण्डको रेडक्रस भवननजिकै आफूलाई चक्कु प्रहार गरी लुटेराले रु पाँच लाख नगद लुटेर लगेका प्रहरीलाई बताएका थिए। सूचना पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय गौशालाले चौधरीले नाटकीय घटना रचेको पत्ता लगाएको हो।

“लुटपाटको सूचना पाएपछि हामी घटनास्थल पुगेर अनुसन्धानमा लाग्यौँ, त्यो त पूरै नाटक रहेछ”, ईलाका प्रहरी कार्यालय गौशालाका प्रमुख तथा प्रहरी निरीक्षक रञ्जन मिश्रले भने, “लुटपाटको नाटक रचेर प्रहरी र परिवारजनलाई झुक्याउने चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको तयारी गर्दैछौँ।”

अनुसन्धानबाट आफ्नै भाइले बैंक खातामा जम्मा गर्न दिएको रु पाँच लाख नगद पचाउन चौधरीले लुटपाटको नाटक रचेको खुलेको हो। चौधरीले प्रहरीसमक्ष आफ्नो कर्तुत स्वीकार गरिसकेका प्रहरी निरीक्षक मिश्रले जानकारी दिए।

चौधरीले आफ्ना छरछिमेकसँग लिएको सापटी र ऋण तिर्न आफूसँग रकम अभाव भएपछि चक्कु प्रहारको कथा बुनेको स्वीकार गरेका छन्। अनुसन्धानको क्रममा प्रहरीले उनीसँग रहेको नगद राखिएको झोला नाटकीय घटनास्थल नजिकैबाट फेला परेको छ।

प्रहरी नियन्त्रणमा रहेका चौधरीले बायाँ तिघ्रामा आफैँ कोतरेर घाउ बनाएको बयान दिएको प्रहरी निरीक्षक मिश्रले बताए। चौधरी रामगोपालपुरमै मनि ट्रान्सफर सञ्चालन गर्दै आएका व्यापारी हुन्।

यसअघि प्रहरीले घटनाको यथार्थ बाहिर ल्याउनुअघि नै चौधरी लुटिएको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो।

साउन १५, २०७९ आइतबार १०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।