
किर्ते फारमको आधारमा राहदानी निकाल्दिने चार जना पक्राउ

काठमाडौँ : किर्ते फारम बनाएर एकै दिनमा राहदानी बनाउन संलग्न गिरोहका चार जना पक्राउ परेका छन्। राहदानी विभागका कर्मचारीसँग मिलेमतो गरेर फारममा राखिएको मिति किर्ते गरेर राहदानी निकाल्न संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
यसबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। उकेराको खोजमा यस्तो धन्दामा दलालसँगै विभागका केही कर्मचारी समेत संलग्न रहेको देखिएको थियो। कालीमाटी वृत्तले भने दलाली गर्नेहरूलाई मात्र पक्राउ गरेको हो।
राहदानी विभागका कर्मचारीको सेटिङमा नक्कली फारमबाट जारी हुन्छ सक्कली पासपोर्ट
प्रहरीले सिन्धुपाल्चोकका रामबहादुर बोगटी, धनकुटाका श्यामकुमार राई, सिन्धुपाल्चोकका राम पौडेल र काठमाडौँका विवेक गुरुङलाई पक्राउ गरेको जानकारी दिएको छ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा आवेदन भरेको ३२ वटा अनलाइन फारम बरामद गरेको छ। प्रहरीले उनीहरूमाथि सरकारी लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद लिएको छ।
साउन १४, २०७९ शनिबार १९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।