आहा रारा गोल्डकपको २०औं संस्करणमा बिनादर्शक खेलाउँदा साढे १२ लाख नोक्सान

आहा रारा गोल्डकपको २०औं संस्करणमा बिनादर्शक खेलाउँदा साढे १२ लाख नोक्सान

पोखराः मोफसलको लोकप्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २०औं संस्करणमा आयोजकलाई तीन लाख ४७ हजार आठ सय रुपैयाँ घाटा लागेको छ। आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो।

प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कुल आम्दानी रु ६६ लाख ४१ हजार एक सय ८१ भएकामा खर्च रु ६९ लाख ८९ हजार भएको क्लबले जनाएको छ।

कोभिड–१९ को सङ्क्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक बिनादर्शक खेलाइएको प्रतियोगितामा रु १२ लाख ६२ हजार आठ सय २६ नोक्सान भएको पनि क्लबले जनाएको छ। यद्यपि, विषम् परिस्थितिलाई मध्यनजर गरी सहारा हङकङबाट रु पाँच लाख एक हजार, सहारा युकेबाट रु तीन लाख र सहारा अष्ट्रेलियाबाट रु एक लाख थप सहयोग प्राप्त भएकाले नोक्सान कम भएको अर्थ सङ्कलन उपसमिति संयोजक सुनिल गुरुङले बताए।

प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्स्‌बाट रु १३ लाख ५१ हजार, गण्डकी प्रदेश खेलकुद परिषद्बाट रु पाँच लाख, राष्ट्रिय खेलकुद परिषद्बाट रु चार लाख ९२ हजारसहित विभिन्न सङ्घ संस्थाबाट सहयोग प्राप्त भएको थियो।

यस्तै खेलाडी दैनिक भ्रमण खर्चमा रु २७ लाख ४८ हजार एक सय ५०, टिम प्रोत्साहन खर्च रु १७ लाख ९३ हजार नौ सय ५०, रेफ्री खर्च रु चार लाख २६ हजार आठ सय ८५, प्रचारप्रसार, आयोजक टिम तयारीलगायत शीर्षकमा खर्च भएको क्लबले जनाएको छ। गत माघ ६ देखि १५ गतेसम्म २०औं संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो।

प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपीएफ फुटबल क्लबले जित्दा मनाङ मर्स्याङ्दी फुटबल क्लब उपविजेता बनेको थियो। सहाराले फुटबल प्रतियोगिता आयोजनाबाट सङ्कलित रकमबाट सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ।

साउन १४, २०७९ शनिबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।