शुक्लाफाँटा निकुञ्जमा १६ पोथी, १२ भाले र आठ लिङ्ग नखुलेका पाटे बाघ

शुक्लाफाँटा निकुञ्जमा १६ पोथी, १२ भाले र आठ लिङ्ग नखुलेका पाटे बाघ
तस्बिरः इन्टरनेट

काठमाडौंः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ दोब्बर सङ्ख्यामा बढेका छन्। अहिले त्यहाँ पाटे बाघको सङ्ख्या ३६ पुगेको छ।

निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार १६ पोथी, १२ भाले र लिङ्ग नखुलेका बाघको सङ्ख्या आठ रहेको छ।

बाघको बासस्थानमा सुधारसँगै आहारा प्रजातिको पर्याप्तता, पानीको व्यवस्था, चोरी शिकारी पूर्णरुपमा नियन्त्रण हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग र समन्वयका कारण बाघको सङ्ख्या बढेको बताइएको छ।

गत वर्षको माघ २९ देखि २१ दिनसम्म स्वचालित क्यामेराको सहायताले बाघ गणना गरिएको थियो।

शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको दुई सय ६० ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य गरिएको निकुञ्ज कार्यालयले जनाएको छ। थोरै क्षेत्रफलमा धेरै बाघको घनत्व पाइने क्षेत्रका रूपमा निकुञ्ज परिचित रहेको छ।

सन् २००९ मा निकुञ्जमा बाघको सङ्ख्या आठ वटा मात्रै रहेको थियो। त्यो सङ्ख्या बढेर अहिले ३६ पुगेको छ।

अघिल्लो वर्ष निकुञ्जमा १९ वटा पाटेबाघ फेला परेका थिए। सन् २०१३ मा १७, सन् २०१८ मा १६ वटा पाटेबाघ देखापरेका थिए। निकुञ्जमा दुई वर्षको अवधिमा दुई वटा बाघ मृत फेला परेका थिए।

निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

साउन १४, २०७९ शनिबार ११:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।