सुदूरपश्चिममा पनि बढे कोरोना सङ्क्रमित, सक्रिय नै सय नाघे

सुदूरपश्चिममा पनि बढे कोरोना सङ्क्रमित, सक्रिय नै सय नाघे

काठमाडौंः सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या नै एक सयभन्दा नाघेको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको हो। 

सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा ६ जना सक्रिय सङ्क्रमित छन्। 

कुनै बेला प्रदेशमा कोरोना सङ्क्रमण दर शून्यमा झरेको थियो। भारतीय सीमासँग जोडिएको प्रदेश भएकाले भारतमा सङ्क्रमणदर बढ्दै गएकाले त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको छ।

हाल पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो। सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार २१२ को कोरोना परीक्षण गरिएकोमा ५९ हजार ८६७ मा सङ्क्रमण पुष्टि भइसकेको छ। ६३३ को ज्यान गइसकेको छ।

साउन १४, २०७९ शनिबार ०८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।