अनौठो हनी ट्र्याप : श्रीमान् योजना बनाउने, श्रीमती फेसबुकबाट फसाउने

अनौठो हनी ट्र्याप : श्रीमान् योजना बनाउने, श्रीमती फेसबुकबाट फसाउने

काठमाडौँ : सामाजिक सञ्जालबाट परिचय गर्दै निकट बनेर भेट्ने अनि ट्र्यापमा पारेर मुद्दा हाल्छु भन्दै धम्क्याएर पैसा असुलेको आरोपमा श्रीमती र श्रीमान् नै पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार शेखर बास्तोला र रोजिना राउत पक्राउ परेका हुन्।

कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धानमा  रोजिनाले सामाजिक सञ्जालको माध्यमबाट सम्पर्क बढाउने गरेकी थिइन्। कुराकानी बढ्दै गएपछि अश्लील कुराकानी गर्ने अनि रेकर्ड गरेर त्यसैलाई हतियार बनाएर पैसा माग्ने गर्थिन्।

नत्र  फसाई दिने भन्दै  धम्की देखाई मोलमोलाइ गरेर  ठुलो रकम माग गर्ने गरेकी थिइन्। यो काममा उनलाई श्रीमान्ले सघाउने गर्थे। रोजिनाले पैसा माग्न थालेपछि शेखरले आफूलाई साइबर ब्युरोको प्रहरी निरीक्षक भएको भन्दै कुरा नमिले पक्राउ गरेर अनुसन्धान सुरु गर्ने भन्दै मिल्न दबाब दिन्थे।

सोबारे प्रहरीले जानकारी पाएपछि दुवै जनालाई पक्राउ गरेको थियो। प्रहरीले पछिल्लो समय यस्ता घटनामा संलग्न गिरोह नै पक्राउ गरिरहेको छ।

साउन १४, २०७९ शनिबार ०२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।