नेपाली ह्याचरी उद्योगमा अमेरिकी सोया फिड आउँदै, नेपालमा गरियो अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ : यूएस सोयाबिन एक्सपोर्ट काउन्सिल (यूएसएसईसी) ले राइट टु प्रोटिनसँगको सहकार्यमा नेपालमा सोया फेड लेभलको सुरुवात गर्दै लोगो सार्वजनिक गरेको छ।
प्रोटिनका लागि नेपालमा खाद्यपदार्थमा ‘सोया फेड’ लेभलको अभियानका लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो। सोही सम्मेलनमा नयाँ लोगो सार्वजनिक गरिएको हो।
अहिले नेपालमा भारत र बङ्गलादेशको सोया बिक्री हुने गरेको छ। नेपालमै उत्पादन हुने गरे पनि नेपाली उत्पादन एकदम कम छ।
नेपालमा सोयाबिनको सेवन पहिल्यैबाट हुँदै आएको छ। सम्मेलनमा कुखुरा, माछाका साथै मानिसले उच्चस्तरको सोयाबिन खाँदा प्राप्त हुने गुणस्तरीय प्रोटिनबारे जानकारी गराइएको थियो।
उच्च गुणस्तरको सोयाबिन खाएर बढेका जनावर, कुखुरा र माछाको सेवनबाट पनि मानिसलाई फाइदा पुग्नेबारे सम्मेलनमा सहभागी विज्ञहरूले जानकारी गराएका थिए।
अन्तर्राष्ट्रिय सम्मेलनमा काउन्सिलले सोयाबिनयुक्त कुखुराको दाना ‘सोया फिड’ नामक नयाँ लोगो समेत सार्वजनिक गरेको थियो। काठमाडौँमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेशलगायत दक्षिण एसियाली मुलुक, अफ्रिकी, युरोपियन र अमेरिकाका करिब १ सय ५० जना प्रतिनिधि सहभागी थिए।
सम्मेलनमा ह्याचरी व्यवसायी, दाना उत्पादक र सम्बन्धित क्षेत्रका विज्ञ समेत सहभागी थिए। सम्मेलनमा अमेरिकी सोयाबिन दाना कारोबारमा संलग्न संस्था यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलले विभिन्न ८० वटा देशसँग सहकार्य गरेर नेपाली बजारमा ल्याएको ‘सोयाबिनयुक्त कुखुराको दाना ‘सोया फिड’ बारे जानकारी गराएको थियो।
सोयाबिन पोषणयुक्त दाना उपयोग गर्दा कुखुराको स्वास्थ्य राम्रो हुने, कुखुराको तौल छिटो बढ्ने,चल्ला पनि छिटो हुर्किने र कुखुराको मासुसमेत निकै गुणस्तरीय हुने यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलको दाबी छ।
काउन्सिलले यस्तो दाना खुवाएर पालेको कुखुराको मासु खाँदा पनि निकै स्वादिलो र मानव स्वास्थ्यका लागि राम्रो हुने बताएको छ।
साउन १३, २०७९ शुक्रबार २२:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।