बिमा रकम हत्याउन विवाह गरी श्रीमानको हत्या, २ करोड ५० लाख बुझेपछि यसरी परे प्रहरी फन्दामा

बिमा रकम हत्याउन विवाह गरी श्रीमानको हत्या, २ करोड ५० लाख बुझेपछि यसरी परे प्रहरी फन्दामा

काठमाडौं : अष्ट्रेलिया जाने लोभमा परेर नक्कली विवाह गरी मृतक श्रीमानको जीवन बिमाबाट २ करोड ५० लाख बुझेकी सपना मल्ल प्रहरी हिरासतमा पुगेकी छन्।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले दिएको जानकारी अनुसार बाँके जिल्ला कोहलपुर नगरपालिकाकी सपना मल्ललाई साउन ९ गते दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

उनी सहित ६ जनालाई पक्राउ गरेको सिआइबीले यो घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जनाएको छ। 

हत्या गरेर बिमाको रकम मागदावी
बालुवा लोड गर्ने काम गर्ने सर्जन विक गत वैशाख २ गते रातिको ११ बजे काम सकेर घर फर्किए मोटरसाइकलमा। बैजनाथ गाउँपालिका वडा नम्बर ६,  लालपुरको भित्री सडकमा आइपुगेको बेला विपरीत दिशाबाट आएको मिनी बसले उनलाई ठक्कर दियो।

बस चालक थिए टोपबहादुर राना। घाइते भएका विकलाई स्थानीय तथा प्रहरीले फेला पारी मेडिकल कलेज कोहलपुर पुर्याइयो। उपचारको क्रममा उनको मृत्यु भयो। 

सिआइबीका प्रमुख उत्तमबाबु सुवेदीका अनुसार यो कुनै दुर्घटना थिएन। नियोजित ढंगबाट सर्जन विकको हत्या गरिएको थियो। सुवेदीका अनुसार मिनी बस चालक टोपबहादुर राना क्षेत्रीले सर्जनको हत्या गर्ने टोलीसँग मिलेर मोटरसाइकमा आएका सर्जनलार्ई ठक्कर दिएका थिए। 

यस घटनाका प्रमुख नाइके थिए, सञ्जीव अर्याल। अयार्लसँग सपना मल्लको भेट ललिता सापकाटाले गराइदिन्। उनले अष्ट्रेलिया पठाइदिन विवाह गर्दैमा केही नहुने भन्ने लोभ–लालच देखाइन्। 

सपनाले पनि सहजै सर्जनसँग विवाह गरिन्। यता सञ्जीवले कसरी दुर्घटना गराउने सवारी चालकको प्रयोग गर्ने भन्ने योजना बनाइसकेका थिए। रिलयान्स लाइफ इन्स्योरेन्सका एजेन्ट सरदार अहमद खाँ पनि सञ्जीवको योजनासँग सहमत भएपछि सर्जनको सडक दुर्घटना बिमा गराउने र रकम बाँडेर लिने योजना बुनेको देखिन्छ। 

सर्जनको हत्या गराउन एजेन्ट खाँले आफ्नो मोटरसाइकल मृतक सर्जनलाई चलाउन दिन्छन्। ज्यामीको काम गर्ने २१ वर्षे सर्जनले मोटरसाइकल लिएर हिँड्छन्। 

सवारी दुर्घटनामा सर्जनको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइयो। बाँके जिल्ला अदालतले २०७८ माघ २५ मा फैसला पनि गर्यो। सवारी चालक रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो। मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्स्योरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए। 

मृतकको नजिकको हकवालाका रूपमा श्रीमती बनाइएकी सपना मल्लको बैंक खातामा इन्स्योरेन्स कम्पनीले २ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको थियो। उक्त रकममध्ये मुख्य योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार रुपैयाँ, दीपक केसीले ६० लाख, छविकुमारी खत्री नाम गरेकी सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको पाइएको छ।

मृतकको उमेर नपुगेपछि ढिलो विवाह दर्ता
प्रहरीका अनुसार हत्या भएका सर्जन विक विवाह दर्ता गर्न २०७७ साल फागुन २८ गते जुन दिन उनीहरु जीवन बिमा गर्दै थिए, त्यही दिन पुगेका थिए तर सर्जनको उमेर नपुगेपछि उनीहरुको विवाह दर्ता हुन सकेन। त्यतिबेला उनी २० वर्ष पुगेका थिएनन्।

विवाह दर्ता गरेपछि सपनाको र सर्जनको भेटघाट र कुराकानी नभएको प्रहरी अनुसन्धानमा देखिएको छ। बरु सपना मल्ल सञ्जीव अर्याल, दुर्घटनमा संलग्न सवारी चालक घटना भएको अगाडि दिनदेखि नै सम्पर्कमा रहेको देखिन्छ। 

घटनाको दिन सञ्जीव अर्यालको मृतक सपना मल्ल, एजेन्ट अहमत खाँ र मिनी बस चालक टोपबहादुर रानाबीच सम्पर्क भएको देखिँदैन। 

सर्वाधिक जीवन बिमा र म्यादी जीवन बिमा दुवैमा एक्सिडेन्टल करार गरिएको थियो। यो भनेको कालगतिले मृत्यु भएमा रकम नपाउने तर दुर्घटनामा परेको रकम पाउने हो।

रिलायन्स इन्स्योरेन्सले उजुरी दिएपछि...
सवारी दुर्घटना गराई मारिएका व्यक्ति सर्जन विकको कामना सेवा विकास बैंकमा २०७७ फागुन ५ गते खाता खोलेको देखिन्छ। सपना मल्लको खाता फागुन महिनाकै १२ गते खोलेको देखिन्छ।

सिआइबीले सूक्ष्म तरिकाले घटना केलाउँदै भनेको छ– जीवन बिमाको लागि २०७७ फागुन २८ गते फारम भरेको देखिन्छ। इच्छ्याइएको व्यक्तिमा सपना मल्ललाई राखिएको छ। जबकी, विवाह २०७७ चैत २ गते मात्रै भएको देखिएको छ। 

रिलायन्स लाइफ इन्स्योरेन्समा सर्वाधिक जीवन बिमा १ करोड २० लाख र ७० लाख, दुर्घटना जीवन बिमा (एक्सिडेन्टल डेथ बेनिफिट) मा बिमा गरेको देखिन्छ। यसको अवधि २५ वर्षको राखिएको छ। 

म्यादी जीवन बिमा अवधि ५ वर्षको जहाँ ३० लाख राखे भने सोही रकम बराबरको पर्मानेन्ट टोटल डिसएबिलिटी प्रिमियम वेभर बेनीफिट रहेको रकम पनि बिमामा समेटियो। 

बिमाको प्रथम शुल्क ५ लाख ४० हजार पनि बुझाए सर्जनले। यो रकम यो योजनाका प्रमुख योजनाकार सञ्जीव अर्यालले सर्जनलाई दिएका थिए। 

नियम अनुसार पेसा र वार्षिक आयको रकमले बिमाको शुल्क ५ लाख ४० हजार तिर्न नसक्ने अवस्थामा सर्र्जन देखिएको प्रहरी अनुसन्धानले बताउँछ। बिमा गर्दा वार्षिक आम्दानी समेत देखाउनुपर्ने हुन्छ। सर्जनले वार्षिक २ लाख आम्दानी हुने भनी स्वघोषणा गरेका थिए। 

वार्षिक आयको ४० प्रतिशतसम्मको मात्र बिमा गर्न सक्ने प्रावधान छ। के आधारमा रिलायन्स इन्स्योरेन्सले वार्षिक दुई लाख आम्दानी हुनेलाई वार्षिक ५ लाख ४० हजार बुझाउने गरी बीमा गर्न दियो भन्ने प्रहरी अनुसन्धानमा खुलेको छैन।

उकेराको प्रश्नमा सिआइबी प्रमुख उत्तमराज सुवेदीले यो पनि अनुसन्धानकै क्रममा रहेको बताए। ‘यो पाटोलाई पनि हामीले अनुसन्धानको दायरामा राखेका छौँ,’ उनले भने, ‘अहिले नै यही भन्ने स्थितिमा हामी रहेनौँ।’

सवारी दुर्घटनामा २०७८ वैशाख २ गते सर्जन विकको मृत्यु भएपछि विककी श्रीमती भनिएकी सपना मल्लले बिमा भुक्तानी २०७८ साउन १४ गते २ करोड  ५० लाखको चेक लिइन्। 

वार्षिक आम्दानी दुई लाख मात्रै हुने बताएका सर्जन विकले बिमा रकम वार्षिक ५ लाख ४० हजार बुझाउने शर्त स्वीकारेको रिलायन्स इन्स्योरेन्सले जब २ करोड ५० लाखको चेक काट्यो तब भने इन्स्योरेन्सलाई शंका लागेको देखियो।

रिलायन्स इन्स्योरेन्सले २०७८ पुस ३० गते नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले मृतक सर्जन बिकको सवारी दुर्घटनामा निधन भएको कुरा शंकास्पद लागेको भन्दै ब्युरोमा निवेदन दिएको थियो। 

त्यस्तै रिलायान्स लाइफ इन्स्योरेन्स लिमिटेडले पनि ठगी सम्बन्धी कसुरमा अनुसन्धान गरिपाउँ भनी जाहेरी दियो। जाहेरीपछि प्रहरीले खोज्दै जाँदा सपना मल्ललाई पहिले पक्राउ गर्यो साउन ९ गते।

त्यसपछि यस घटनामा जोडिएका मुख्य योजनाकार सञ्जीव अर्याल, बिमाका एजेन्ट सरदार अहमद खाँ, बस चालक टोपबहादुर राना, बिमा भुक्तानीको लागि सपनालाई काठमाडौं लिएर आउने दिपक केसी र बिहे गरेर अष्ट्रेलिया जाँदा फाइदा हुन्छ भनी सञ्जीव अयार्ललाई चिनाइदिने ललिता सापकोटालाई प्रहरीले पक्राउ गर्यो।

साउन १३, २०७९ शुक्रबार २१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।