युनियनको पद हस्तान्तरणमा शिवलाई चुनौती दिँदै बद्रीले भने : पत्रकार महासङ्घको निर्वाचनमा हैसियत देखिहालिन्छ

काठमाडौँ : प्रेस युनियनको नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको प्रमाणपत्र वितरण समारोहमा निवर्तमान अध्यक्ष बद्री सिग्देल र नवनिर्वाचित अध्यक्ष शिव लम्सालबिच घोचपेच चल्यो। दुबैबिच घोचपेच चलिरहँदा कार्यक्रममा नेपाली कांग्रेसको प्रतिनिधि बनेर आएका प्रकाश शरण महतले ' युनियनमा आबद्ध पत्रकारले आफुविरुद्ध जे पायो त्यही लेखेको भन्दै पत्रकारिताको गुणस्तर खस्किएको दाबी गरे।
कार्यक्रमको प्रारम्भमै निवर्तमान अध्यक्ष सिग्देलले हेटौडामा भएको महाधिवेशनमा केन्द्रीय पार्षदहरु नै नचिनेको दाबी गरे। महाधिवेशनमा बद्री प्यानलका अधिकांश उम्मेदवारहरू पराजित भएका थिए।
‘म भित्र थिएँ, जय नेपाल बद्रीजी भन्ने अग्रज र साथीहरू पनि थिए। एउटा जमात आयो जसले मलाई पनि चिनेन, युनियनको अध्यक्षलाई नचिन्ने त्यो कस्तो युनियनको मान्छे हो? टुलुटुलु हेरेर बस्नुपर्यो,’ उनले भने।
कार्यक्रममा उनले पत्रकार महासङ्घमा अध्यक्ष १२ वर्षपछि आफ्नै कार्यकालमा फर्काएको, अघिल्लो कार्यकालमा अध्यक्ष दिएर अन्यको नेतृत्व लिएको, सञ्चारीका समूहमा युनियनका पत्रकार नेता जिताएको भन्दै जस लिने प्रयास गरे।
उनले नवनिर्वाचित कार्यसमितितर्फ इङ्गित गर्दै अब हुने नेपाल पत्रकार महासङ्घमा युनियनको प्रतिनिधित्वले अहिलेको कार्यसमितिको हैसियत थाहा पाइने भन्दै छेड हान्न भ्याए।
‘तपाईँको मूल्याङ्कन महासङ्घको निर्वाचनमा थाहा भइहाल्छ। खुट्टी हेरेर थाहा पाइन्छ। प्रदेश अधिवेशन गराउने जिम्मा तपाईँको पनि हो, उनले भने' मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनमा कांग्रेसको लागि भोट मागिदिने दायित्व युनियनका पदाधिकारीकै हो।'
नवनिर्वाचित अध्यक्ष शिव लम्सालले सिग्देलका कमजोरीमा टेक्दै जवाफ फर्काए। उनले आफूमाथि शङ्का नगर्न आग्रह गर्दै भने'हामी पार्टीलाई पनि देखाउँदैनौ। विधि विधान अनुसार चल्नुपर्छ। कार्यकाल लम्ब्याउने छैनौ।’
सिग्देल दुई पटक महाधिवेशन गर्नुपर्ने समयमा पनि आफै अध्यक्षमा बसेका थिए। उनले मतदाताले अध्यक्षलाई चिन्ने काम आफूले नगरेको बताए।
‘पार्षद्ले नचिन्ने काम हामीले गरेका होइनौँ। कार्डमा हस्ताक्षर शिव लम्सालले गरेको होइन। तपाईँ नचिन्ने मतदाता बनाउँदा पनि जितेर आएका हौँ,’ उनले भने, ‘सरकारी कार्यालयबाट उम्मेदवार बनाएर अपमान गर्ने छैनौँ।’
पार्टीका तर्फबाट प्रतिनिधि बनेर पुगेका कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले हारेका उम्मेदवारलाई अर्को महाधिवेशनसम्म पर्खिन भने। उनले मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन हुने बताउँदै पत्रकारिताको स्तर गिरेको दाबी गरे। उनले निर्वाचन लक्षित गरी पार्टीको विचार र नीति जनतामाझ सम्प्रेषण गर्ने जिम्मेवारी युनियनको रहेको बताएका थिए।
साउन १३, २०७९ शुक्रबार २०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।