नेपालमा पाटे बाघको संख्या थपिँदा मान्छेमाथि आक्रमणको खतरा बढ्यो

काठमाडौं : नेपालमा पाटे बाघको संख्या झन्डै तेब्बर भएको छ। शुक्रबार अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्दै १२ वर्षमा बाघको संख्या झन्डै तेब्बर वृद्धि भएको घोषणा गरेका हुन्।
सन् २०१० मा १२१ रहेको पाटे बाघको संख्या बढेर सन् २०२२ मा ३५५ पुगेको नयाँ सर्वेक्षणले देखाएको छ। तर बाघको संख्या बढेसँगै बाघले मान्छेमाथि गर्ने घातक आक्रमण पनि बढ्ने चिन्ताले पनि उत्तिकै सताएको छ।
योसँगै सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने नेपालले गरेको प्रतिबद्धतामा सफलता हात पारको भन्दै संरक्षकहरुले खुसी व्यक्त गरेका छन्। अवैध रुपमा हुने बाघको चोरी सिकारी नियन्त्रण, राष्ट्रिय निकुन्जको विस्तार र भारतसँगको बन्यजन्तु कोरिडोर निर्माणले बाघको संख्या वृद्धिमा सघाउ पुगेको संरक्षणकर्ताहरु बताउँछन्।
सन् २०१० सेप्टेम्बरमा पूर्वी रुसको भ्लाडिभोस्टोक सम्मेलनमा बाघ पाइने १३ देशले बाघको संख्या एक दशकमा दोब्बर बनाउने संकल्पसहित निर्णय गरेका थिए। ती मुलुकमध्ये बाघको संख्या बढाउन सफल हुनेमा नेपाल पहिलो मुलुक बनेको छ।
तर नेपालमा मानिसमाथि बाघले आक्रमण गरेका पछिल्ला दर्जनौं घटनाले भने निकुन्ज आसपास बस्ती भएका मानिसले आफ्नो ज्यानको मूल्य चुकाइरहेको प्रष्ट पारिरहेको छ।
बाघको संख्या बढ्नुले संरक्षित क्षेत्र आसपासका मानव वस्तीमा बाघ आक्रमण बढ्नेबारे खतराको घन्टी झनै चर्किने चेतावनी दिएको छ।
काठमाडौं पोष्टकाअनुसार संरक्षित क्षेत्र वरपर मात्र विगत तीन वर्षमा १०४ वटा बाघ आक्रमणका घटना भएका छन् भने ६२ मानिसले ज्यान गुमाइसकेका छन्।
घाँस काट्न, दाउरा टिप्न र बस्तुभाव चराउन गएको बेलामा बाघको आक्रमणमा पर्ने गरेको ती घटनाले देखाउँछन्।
नेपाल बाहेक रुस, भारत, चीन, भुटान, भियतनाम, म्यानमार, इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड र लाओसमा पाटे बाघ पाइन्छन्। नेपालमा बाघको संख्या बढेसँगै मानव र बाघबीचको द्वन्द्व न्युनीकरण, मानव सुरक्षा, बासस्थान, बाघको व्यवस्थापन सरकारको लागि चुनौतीको विषय बनेको छ।
बाघको संख्या बढ्नु खुसीको कुरा भए पनि त्यसबाट हुने ती बाघको बासको उचित व्यवस्थापन र जनचेतना अभाव आदिले मानव र बाघ वा बन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको विश्व वन्यजन्तु कोष (डब्ल्यडब्ल्युएफ)का संरक्षण कार्यक्रम निर्देशक शिव राज भट्ट बताउँछन्।
‘मानिसको अचेल जता पनि बाघसँग जम्काभेट भइरहेको हामीलाई थाहा छ। सोही कारण मानव र बाघबीच द्वन्द्व बढिरहेको छ,’ उनी भन्छन्, ‘यसले नेपालमा बाघको संख्या उच्च रहेको जनाउँछ। हामी एक सानो मुलुक भएकोले सरकारको लागि बाघको संख्या उच्च हुनु भनेको नयाँ चुनौती हो। यस्तै हो भने हामीले अब बाघ र मानिससँगै बाँच्न र बस्न सक्छन् भन्ने देखाउन सक्नुपर्छ।’
पछिल्लो समय जलवायु परिवर्तका कारण पाटे बाघ तराई, पहाड र तल्लो हिमाली भेगतिर पनि फेला परिरहेको विभिन्न समाचार बाहिरिने गरेको छ। यसले पनि मानव र बाघबीचको द्वन्द्व समाधान गर्न चुनौती थप्ने बताइन्छ।
नेपालमा बाघको बढ्दो संख्यासँग सम्बन्धित समस्याहरुको कहिल्यै सीमा नतोकिएको र सरकारले यस्तो अवस्थालाई विशेष तरिकारले व्यवस्थापन गर्नुपर्ने आयुसिएनका मानव-वन्यजन्तु द्वन्द्व एवं सहअस्तित्व विज्ञ समूहका सदस्य मयुख चटर्जी बताउँछन्।
‘हामीले भारतमा बाघको बढ्दो संख्याले निम्त्याइरहेको असर प्रत्यक्ष देखिरहेका छौं। बाघको संख्या बढ्नु भनेको मानवसँग द्वन्द्व झनै बढ्नु हो,’ उनी भन्छन्, ‘मानिसमाथि बाघले गर्ने ८० प्रतिशत आक्रमण बाघसँग अकस्मात हुने जम्काभेटका कारण हुने गरेको हाम्रो तथ्यांकले देखाउँछ। यदि सरकारले निकुञ्ज एवं संरक्षण क्षेत्र आसपासका बस्ती र त्यहाँका बासिन्दासँग सम्बन्धित कुनै योजना बनाएन भने नेपालमा पनि बाघको आक्रमण झनै बढ्ने प्रष्ट देखिन्छ।’
(प्याट्रिक ग्रिनफिल्डले गार्जियनका लागि तयार पारेको स्टोरीबाट अनुवाद।)
साउन १३, २०७९ शुक्रबार १६:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।