बुटवलको सडक ठेक्का किन नतोड्ने भन्दै मनासिव कारण देखाउन सात दिने सूचना

बुटवल : निर्माण सम्झौता भएको ६ वर्षसम्म पनि सडक निर्माणको काम सम्पन्न नभएको भन्दै बेलहिया-बुटवल व्यापारिक आयोजनाले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ।
आज एक सूचना प्रकाशित गर्दै व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया-बुटवल सडकले ठेक्का लगाएका कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएका र बाह्य समस्याविना पनि लामो समयसम्म निर्माणको कार्य रोकिएको भन्दै ठेक्का सम्झौता अन्त्य किन नगर्ने भन्दै सूचना प्रकाशित गरेको छ।
आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीले ठेकेदार कम्पनीलाई निर्माण कार्य अगाडि बढाउन विभिन्न मितिमा लिखित र मौखिक ताकेता गर्दा समेत सन्तोषजन कार्य प्रगति नभएको भन्दै सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिक ठेक्का किन अन्त्य नगर्ने भन्दै सूचना प्रकाशित गरेको बताए।
उनले ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मानासिव कारण भए सात दिनभित्र भरपर्दो स्पष्टीकरण सहित आयोजनाको कार्यालयमा उपस्थित हुन भनिएको बताए। उनले स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका सर्त र सिओसी तथा प्रचलित ऐन-नियम अनुसार कानुनी कारबाही अगाडि बढाउने बताए।
आयोजनाले तीन वटा ठेक्का तोड्ने गरी प्रक्रिया सुरु गरेको छ। बिरुवा कन्स्ट्रक्सन प्रालि मध्य बानेश्वर काठमाडौंले लिएको ठेक्का नं. टिआरआईपी/३३७३१२४/विवि/०७३/०७४-००१, बिरुवा-श्रेष्ठ-एपेक्स जेभी काठमाडौंको ठेक्का नं. टिआरआईपी/३३७३१२४/विवि ०७१/०७२-००२ र द कञ्चनजंगा-बिरुवा जेभी, मध्य बानेश्वर काठमाडौंले ठेक्का पाएको ठेक्का नं. टिआरआईपी/३३७३१२४/विवि ०७३/०७४-००३ तोड्ने गरी प्रक्रिया अघि बढाएको हो। यी तीन वटा ठेक्का बेलहिया, पडसरी र बुटवलका हुन्।
साउन १३, २०७९ शुक्रबार १४:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।