उडेको केही मिनेटमै यति एयरको जहाजको इन्जिन फेल भएपछि पोखरा फर्काइयो

पोखराः पोखराबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि फेरि पोखरा नै फर्काइएको छ। शुक्रबार बिहान ८ः५४ मा पोखराबाट काठमाडौंका लागि उडेको यति एयरको जहाजको एउटा इन्जिनमा समस्या देखिएको हो।
६७२ उडान नम्बरको एटीआर ७२ जहाजले उडेको केही मिनेटमै इन्जिन फेल भएको जनाउ स्वरूप रातो बत्ती (इन्डिकेटर) देखाएको थियो।
पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जहाजको इन्जिनमा समस्या देखिएपछि पोखरामै फर्काइएको बताए। उनका अनुसार ४५ जना यात्रु लिएर जहाज उडेको केही समयमै इन्जिनमा समस्या देखिएको थियो।
जहाजमा समस्या आएपछि अरू उडानलाई होल्ड गराएर पहिले समस्या देखिएको जहाजलाई अवतरण गराइएको सुवेदीले जानकारी दिए।
साउन १३, २०७९ शुक्रबार ११:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।