अब कम्पनीबिच मर्जर सम्झौता हुँदा सेयर कारोबार नरोकिने

काठमाडौँ : मर्जरमा गएका कम्पनीहरूको कारोबार रोक्का नहुने गरी नेपाल धितो पत्र बोर्डले नीति ल्याएको छ। बिहीबार सार्वजनिक भएको बोर्डको वार्षिक नीति तथा कार्यक्रममा मर्जरमा गएका कम्पनीहरूको कारोबार रोकिने व्यवस्था हट्ने उल्लेख छ।
बोर्डका अध्यक्ष रमेश हमालले आगामी १० दिनभित्रै मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी गरेर यस्तो प्रावधान हटाउने जानकारी दिँदै अबको २० दिनमा यो नीति कार्यान्वयनमा आउने बताए।
अहिले मर्जरमा जाने कम्पनीहरूले एकीकृत कारोबार नगरेसम्म दोस्रो बजारमा शेयर कारोबार रोकिने गरेको छ। कम्पनीबिच मर्जरको सहमति भए लगत्तै कारोबार रोकिने र लामो समयसम्म एकीकृत कारोबार नहुँदा सेयर किनेका सर्वसाधारण मर्कामा पर्ने गरेका छन्।
नेपाल इन्भेस्टमेन्ट र हिमालयन बैङ्कबिच मर्जरको सहमतिपछि डेढ वर्षसम्म मर्जर नभई भाँडिदा सेयर किनेका सर्वसाधारणहरू मर्कामा परेका थिए। नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जर तथा प्राप्तिको समयमा शेयर कारोबार रोक्का गर्ने काम धितो पत्र बोर्डको नियम अनुसार हुने उल्लेख गरेको थियो। बोर्डले त्यसैलाई पच्छ्याउँदै नयाँ नीति ल्याउन लागेको हो।
भेन्चरको लाइसेन्स एक महिनामा
नयाँ कार्यक्रममा एक महिनामा भेन्चर क्यापिटल र प्राइभेट इक्वीटी फन्डको लाइसेन्स दिने समेत उल्लेख छ। पाँच वर्ष देखि लाइसेन्स प्रक्रिया रोकिँदै आएको ५। ६ कम्पनीले एलओआइ पाइसके पनि मर्चेन्ट बैङ्कलाई लाइसेन्स दिने कि नदिने अन्योलका कारण लाइसेन्स जारी हुन सकेको छैन। बोर्डले मर्चेन्ट बैङ्कलाई छुट्टै नियमन गर्ने गरी लाइसेन्स दिने तयारी गरेको हमालले बताए।
साउन १२, २०७९ बिहीबार १८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।