उपत्यकाको फोहर बोकेका गाडीलाई स्थानीयले पुनः रोके

काठमाडौंः काठमाडौं उपत्यकाबाट फोहर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले पुनः रोकेका छन्। सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक सातादेखि नउठेको फोहोर आज विसर्जनका लागि बञ्चरेडाँडा लगिएको थियो।
सडक मर्मतको काम पूरा नगरी फोहर लान थालिएको र फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहरको लेदो रहने भाडो व्यवस्था नगरिएको भन्दै स्थानीयले अवरोध गरेको धुनीबेंसी नगरपालिका–१ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए।
काठमाडौं महानगरका वातावरण विभागका प्रमुख सरिता राईका अनुसार स्थानीयको अवरोधले फोहरका गाडी सिसडोल र बञ्चरेडाँडाका बीचमा लामबद्ध भएर बसेका छन्। आठ दिनपछि आज उपत्यकाबाट करिब ६० गाडी फोहर बोकेर गए पनि फोहरको व्यवस्थापन हुन सकेको छैन।
एक महिनाअघि महानगर र स्थानीयबीच लिचडको व्यवस्थापन हुनुपर्ने, सडक मर्मतको काम पूरा गर्नुपर्ने, दुर्गन्ध हटाउनेजस्ता सहमति भएको थियो।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो। यसमध्ये सबैभन्दा बढी काठमाडौं महानरबाट ५०० मेट्रिक टन फोहर निस्कने गर्दछ।
उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ।
साउन १२, २०७९ बिहीबार १४:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।