गणेश थापाका छोरा गौरवको दाबी : मैले पद मागेको हैन, अध्यक्ष र महासचिवले अफर गरेका हुन्

काठमाडौँ : कर्मा छिरिङको अपारदर्शी गतिविधिलाई इस्यु बनाएर अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष बनेका पङ्कजविक्रम नेम्वाङका लागि सबैभन्दा सङ्कटको विषय बनिरहेछ गौरव थापाको प्रवेशको वातावरण बनाउन।
गौरव विश्व फुटबल महासङ्घ (फिफा)बाट प्रतिबन्धित एन्फा पूर्व अध्यक्ष गणेश थापाका छोरा मात्रै हैनन् उनको नाम समेत अपारदर्शी आर्थिक लेनदेनमा तानिएको थियो। उनैलाई एन्फामा उपमहासचिव वा सिइओ बनाउन निरन्तर दबाब आएपछि नेम्वाङले एन्फाको कार्यसमितिको बैठक समेत राख्न सकेका छैनन्।
निर्वाचनमा नेम्वाङले गौरवलाई एन्फामा इन्ट्री गराउने सर्तमा थापाले सघाएको तर अहिले स्वार्थ पुरा भएपछि उनीहरूले नै यसलाई इस्यु बनाएको थापापक्षकाको दाबी छ। नेम्वाङपक्षका भने निर्वाचनमा सघाए पनि त्यस्तो नियुक्ति नै गर्ने कुनै सहमति नभएको दाबी गरिरहेको छ।
यही विवादमा गौरव आफैँले एन्फामा नियुक्तिका लागि कसैलाई दबाब र अनुरोध नगरेको दाबी गर्दै एन्फाका वर्तमान अध्यक्ष र महासचिवले नै आफूहरूलाई सहयोग गर्ने सर्तमा पदको अफर गरेको दाबी गरेका छन्।
उनले बुधवार जारी गरेको विज्ञप्तिमा आफू सन् २०१३ देखि २०१८ सम्म एन्फाको विभिन्न पदमा रहेर काम गरेको उल्लेख गर्दै आफ्नो नियुक्ति फिफा, एएफसी र नेपालको कानुन विपरीत नभएको दाबी गरेका छन्।
उनले विज्ञप्तिमा आफू फुटबलको व्यावसायिक व्यक्ति भएको र नेपाली फुटबलका लागि आवश्यक पर्दा क्षमताअनुसार योगदान गर्न तयार रहेको भन्दै नियुक्तिको आसमा रहेको सङ्केत भने गरेका छन्। उनले अहिले आफूलाई एन्फामा नियुक्त गरे फिफा, एएफसी तथा कुनै पनि समस्या नपर्ने दाबी समेत गरेका छन्।
उनले नेपाली फुटबलको विनाश चाहने एउटा समूहले सङ्गठित रूपमा आफू विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरेका छन्।
साउन ११, २०७९ बुधबार १३:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।