निरन्तर फ्लप मलिना होलिन् अब हिट !

निरन्तर फ्लप मलिना होलिन् अब हिट !

फिल्मी क्षेत्र छाडेर आफ्नै व्यवसायमा रमाइरहेकी पूर्व मिस नेपाल मलिना जोशी छक्कापञ्जा ४ बाट पुन नेपाली फिल्म क्षेत्रमा फर्किएकी छिन्। अभिनय गरेका फिल्महरू खासै नचलेपछि मनोरञ्जन क्षेत्रबाट टाढिएर उनी अनलाइन व्यवसायमा संलग्न भएकी थिइन्।

स्थापित समूह दीपा-दीपक संलग्न रहेको छक्कापञ्जा ४ मा अफर आएपछि उनी छाडेको क्षेत्रमा एक पटक आफैँलाई परीक्षण गर्न फर्कन राजी भइन्।

उनीसँगै फिल्ममा बेनिशा हमालले समेत आफ्नो ओरालो लागेको फिल्मी यात्रालाई उकास्ने आस गरेकी छिन्। 'तितो सत्य' टिमले बनाउन थालेको छक्कापञ्जाले समीक्षकहरूबाट कहिल्यै सकारात्मक प्रतिक्रिया पाउन सकेको छैन।

समीक्षकको नजरमा फ्लप भए पनि व्यवसायीक हिसावमा भने यो सिरिजका फिल्महरू हिट भएका छन् हलमा। चौथौँ फिल्मको नाम ' माग्ने राजा' राख्ने तयारी गरिए पनि उनीहरू नयाँ नाममा जाने रिस्क उठाउन राजी भएनन् र सफल ब्रान्डकै नाममा चौथो सिक्वेल बनाउन राजी भएका थिए।

फिल्मको कथामा दीपकराज गिरी हाबी देखिने गरेका छन्। चौथो फिल्म पनि सोसियल ड्रामा हुनेमा श‌का रहेन। तर यसमा सबै सिक्वेलमा देखिँदै आएका जितु नेपाल भने देखिने छैनन्।

साउन ११, २०७९ बुधबार १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।