विदेशको लेनदेन मिलाउन नेपालमा अपहरण, होटेलमा लगेर बनाए बन्धक

विदेशको लेनदेन मिलाउन नेपालमा अपहरण, होटेलमा लगेर बनाए बन्धक

घोराही : तुलसीपुरमा अपहरण गरेर ७ लाख माग्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दैलेखको चामुण्डाविन्द्रसैनी नगरपालिका वडा नं. ३ बस्ने २७ वर्षीय केशव कुमार विकलाई अपहरण गरेर ७ लाख मागेको आरोपमा उनीहरू समातिएका हुन्।

पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नं. ४ निवासी ३५ वर्षीय लीला विक, सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती, तुलसीपुर ७ निवासी २६ बर्सिया निर्मला विक, तुलसीपुर ४ खाद्रे निवासी २५ वर्षीय सुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका ९ बस्ने २० वर्षीय मनोज थारु र गाडी चालक प्युठान ७ घर भई हाल तुलसीपुर ६ बस्ने २४ वर्षीय जनक कुँवर रहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

उनीहरूले विकलको अपहरणका लागि निर्मलालाई प्रयोग गरेको प्रहरीको भनाई छ।

केशवलाई सोमबार ९ बजे बुटवल बोलाएर, त्यहाँबाट दाङ ल्याएर तुलसीपुरको सल्यान रोड स्थित युवम होटेलमा बन्धक बनाएर राखिएको थियो।

त्यसपछि पैसा माग्न उनले दैलेख स्थित श्रीमतीलाई फोन गरे। श्रीमतीले इप्रका तुलसीपुरलाई फोन गरेपछि डिएसपी अर्यालको कमान्डमा खटिएको १५ जनाको प्रहरी टोलीले उनीहरूलाई मङ्गलवार ५ बजेतिर नियन्त्रणमा लिएको एसपी काफ्लेले बताए।

सुकलाल, मनोज र केशव विदेशसँगै बसेको र लेनदेनको कुरा भएकाले त्यो नमिलेपछि अपहरण गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ।  

साउन १०, २०७९ मंगलबार २०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।