३५ हजार फिर्ता माग्दै सञ्जीवनीका सञ्चालक विरुद्ध प्रहरीमा विद्यार्थीको निवेदन, चेक अनादरमा छलफल गराउने प्रहरीको तयारी

३५ हजार फिर्ता माग्दै सञ्जीवनीका सञ्चालक विरुद्ध प्रहरीमा विद्यार्थीको निवेदन, चेक अनादरमा छलफल गराउने प्रहरीको तयारी

दाङ : दाङमा रहेको नेपाल सञ्जीवनी इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालीका सञ्चालक विरुद्ध पूर्व सञ्चालक र विध्यार्थीहरु प्रहरीमा उजुरी बोकेर पुगेका छन्।

केही विध्यार्थीहरुले आफ्नो ३५ हजार रकम फिर्ता पाउनुपर्ने माग राख्दै जिल्ला प्रहरी कार्यालय दाङमा प्रालीविरुद्ध निवेदन दिएका छन् भने खड्गबहादुर बुढाथोकीले ८७ लाख चेक बाउन्सको जाहेरी दिएका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार सन्चालकद्वय अमृत श्रेष्ठ र देवप्रसाद न्यौपाने विरुद्ध ८७ लाख रुपैयाँको चेक बाउन्सको जाहेरी आएको छ। तर दुबैपक्षलाई छलफल गराउन जाहेरी प्रक्रिया अगाडि नबढेको उनले उकेरालाई बताए।

केही विध्यार्थीहरुले समेत प्रालीविरुद्ध निवेदन दिएको उनले बताए। प्राली खरिदविक्रीकोक्रममा दुबैपक्षविच विवाद देखिए पनि बाउन्स भएको चेकसहित आएकाले पहिला दुबैपक्षलाई छलफलमा राख्ने र सहमति नभए कानुन अनुसार बैंङकिङ कसुरमा अनुसन्धान अगाडि बढाउने उनले बताए।

' विवाद लेनदेनको देखिन्छ। तर लेनदेनको विवाद भए पनि बाउन्स भएको चेक भएकाले प्रहरीको अनुसन्धानको दायरामा पर्छ,' उनले भने' एक पटक दुवै पक्षलाई राखेर छलफल गराउने र सहमति नभए प्रक्रिया अगाडि बढ्ने अवस्थामा छ।'

उता प्रालीका अमृत श्रेष्ठ र देवीराम पोखरेल यस अगाडि उकेरामा सो प्रालीबारे प्रकाशित समाचारमा सत्यता नभएको भन्दै पत्र पठाएका छन्। पत्रमा कलेजको नामबाट कुनै संस्था वा व्यक्तिलाई चेक नदिएको र दुबै जना विरुद्ध कतै जाहेरी दर्ता नभएको उल्लेख गरेका छन्।

उनीहरू दुवैको नाम र हस्ताक्षर रहेको पत्रमा भर्नाको समयमा कलेजलाई बदनाम गराउन कुनियतका साथ समाचार प्रकाशित भएको दाबी गरिएको छ।

साउन १०, २०७९ मंगलबार १८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।