पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौंः राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो।
करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
उनका अनुसार उक्त पहिरोले बागलुङबाट दक्षिण भेग कुस्मिशेरा र बरेङ जाने सडकखण्ड समेत अवरुद्ध गरेको छ।
सो स्थानमा दैनिकजसो पहिरो खसिरहेको छ। अहिले पहिरो पन्छाउन कालीगण्डकी करिडोर, बागलुङ नगरपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
यस्तै आज बिहानदेखि अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्गको बुर्तिवाङ खण्ड पहिरो पन्छाएसँगै सञ्चालन भएको छ।
साउन १०, २०७९ मंगलबार ०९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।