खेर गयो तीन आइजिपीको दाबी, उस्तै छ निर्मला बलात्कार र हत्या घटनाको अनुसन्धान

काठमाडौँ : महेन्द्रनगर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष टेक्यो मङ्गलवार। २०७५ साउन १० मा उनको बलात्कार र हत्या भएको थियो। यो चार वर्षमा अनुसन्धान भने जहाँकोत्यही छ।
साथीको घरबाट आफ्नो घर फर्किदा हराएकी उनको शव अर्धनग्न अवस्थामा उखुबारीमा फेला परेको थियो। बलात्कारपछि घाँटी थिचेर हत्या भएको मेडिकल रिपोर्टले खुलाएको थियो। अनुसन्धानकाक्रममा प्रमाण सङ्कलनमा प्रहरी चुक्दा घटनामा संलग्नको पहिचानै हुन सकेको छैन।
राष्ट्रिय मानव अधिकार आयोगले डिएनए रिपोर्टमा मात्र भर नपरी ह्युमन इन्टेलिजेन्सको आधारमा समेत अनुसन्धान गर्न सिफारिस गरेको थियो।
नयाँ प्रहरी महानिरीक्षकहरूले आफ्नै कार्यकालमा निर्मला घटनामा संलग्न अभियुक्त पत्ता लगाउने दाबी गर्छन्। यो बिचमा तीन जना नयाँ आइजिपी नियुक्त भइसके। तर कुनै प्रहरी प्रमुख आफ्नो दाबीमा खरो उत्रन सकेनन्।
निर्मलाको बलात्कार अनि हत्याको समयमा आइजिपी थिए सर्वेन्द्र खनाल। उनको अवकाशपछि ठाकुर ज्ञवाली र ज्ञवालीपछि शैलेश थापा क्षेत्री आइजिपी भए। कार्यकालका हिसाबले ठाकुरको सबैभन्दा कम र क्षेत्रीको सबैभन्दा बढी थियो। तर कसैले पनि यो केसको अनुसन्धानमा प्रगति गराउन सकेनन्।
अहिले धिरजप्रताप सिंह आइजिपी छन्। उनले जेठ १९ मा सुरक्षा विषयमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै विषयमा रिप निर्मला घटनाको अनुसन्धान आफ्नै कार्यकालमा सफल हुने दाबी गरेका थिए । केन्द्रीय अनुसन्धान ब्युरोले निरन्तर टोली खटाएको पनि छ। तर आशा लायक प्रगति देखिएको छैन।
२०७४ चैतमा आइजिपी नियुक्त भएका सर्वेन्द्र खनाल २०७६ माघसम्म रहे। उनको कार्यकालको बिचतिर घटेको घटना अनुसन्धानमै रुमल्लिइरहने अवस्था उनकै कार्यकालमा भयो।
पक्राउ परेकाहरूलाई निरन्तर फसाउने प्रयास भएको भन्दै विरोधहरू भयो। भिआइपीको संलग्नताको दाबीहरू आए। तर अनुसन्धानरत निकायका कुनै अधिकारीले त्यसलाई विश्वसनीय रूपमा खण्डन गर्न सकेनन्।
दिलीप सिंह विष्टको पक्राउ अनि डिएनएको विवादसँगै विवाद सुरु भए पनि प्रहरीबाट शङ्का बढाउने घटनाक्रम रोकिएन।
आरोप स्विकारेको विष्टको बयानसँगै उनलाई अभियुक्तको रूपमा सार्वजनिक गरेको प्रहरीका लागि डिएनए नमुना परीक्षण सबैभन्दा सङ्कट बन्यो। उसले विष्टलाई सार्वजनिक त गर्यो तर परीक्षणमा डिएनए नमुना मिलेन।
यसले प्रहरीले वास्तविक आरोपी लुकाएर निर्दोष फसाउने प्रयास गरेको शङ्का झन् बलियो बन्दै गयो। भिडले जे भन्यो त्यतै लाग्ने अवस्थामा पुगेको प्रहरीले आरोपकै आधारमा आफ्नै सङ्गठनका सदस्यहरू र केहीको परिवारका सदस्यसम्मको डिएनए परीक्षण गराएको थियो। तर नतिजा आएन। थप शङ्का बढायो।
प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरेर झन्डै एक महिना हिरासतमा राखे पनि नतिजा आएन। तत्कालीन आइजिपी खनालले यी दुवै घटनामा संलग्न रहेको र स्वीकार गरिसकेको दाबी गरेका थिए। तर पछि गलत देखियो। यसले प्रहरीले वास्तविक आरोपी नखोजी अझैँ निर्दोषलाई फसाउन खोजिरहेको शङ्कालाई बल मिल्यो।
खनालले अवकाश पाएपछि २०७६ माघमा आइजिपी भएका ज्ञवाली आफैँ निर्मला केसको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी समेत हुन्। तर ६ महिना मात्रै कार्यकाल भएका उनको समयमा अनुसन्धानले गति लिन सकेन।
२०७७ असारमा ज्ञवालीको अवकाशपछि क्षेत्री आइजिपी नियुक्त भए। उनले निर्मला अनुसन्धान टुङ्ग्याउने रहर त गरे तर कुनै टोलीले पनि भरपर्दो थप प्रमाण जुटाउन सकेनन् जसले शंकामा रहेका पुराना वा नयाँ आरोपीको पहिचान गराओस्।
क्षेत्रीपछि आएका सिंहको पनि कार्यकाल लामो छैन। उनले आफ्नै कार्यकालमा अनुसन्धान सक्काउने दाबी त गरेका छन्। तर त्यसमा अनुसन्धानको प्रगतिभन्दा पनि आशमात्रै देखिन्छ।
साउन १०, २०७९ मंगलबार ०९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।