पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते
साङ्केतिक तस्बिर

पाँचथरः करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। अन्न पिस्ने मिलमा विद्युत् सर्ट भएर करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो।

करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन्।

सोमबार दिउँसो २ बजे जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो। उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। तर, अस्पताल पुर्याउनासाथ जीवनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

पूर्णकुमारको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मृतक जीवनले हालै मात्र घरमा उक्त मिल जडान गरेको स्थानीयले बताएका छन्।

उनी गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार भई झिनो मतान्तरले पराजित भएका थिए।

साउन १०, २०७९ मंगलबार ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।