लालबन्दीबाट गत आर्थिक वर्षमा दुई अर्बको तरकारी निकासी

लालबन्दीबाट गत आर्थिक वर्षमा दुई अर्बको तरकारी निकासी

सर्लाहीः लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/७९ मा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी निकासी गरेको छ। लालबन्दी नगरपालिका–७ मा रहेको समितिले २०७८ साउन १ देखि २०७९ को असार मसान्तसम्ममा ६ करोड एक लाख ६३ हजार २५० किलो तरकारी निकासी गरेको हो।

आव २०७८/७९ को अन्तिम महिना असारमा मात्र ५५ लाख ५० हजार २०० किलो तरकारी निकासी भएको छ। जसको मूल्य २० करोड २३ लाख १७ हजार ५०० रुपैयाँ बराबरको हुन आउने बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले बताए।

जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भण्टा, करेलालगायतका तरकारी यस बजारमा आउने गरेको छ। देशका सिन्धुली, रामेछाप, काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौंडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनबर्सा तथा सीतामडीलगायतका स्थानमा पनि लालबन्दीबाट तरकारी निकासी हुने गरेको समितिका अध्यक्ष तोरणबहादुर मगरले बताए।

गोलभेँडा ५० प्रतिशत, परबल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र अन्य तरकारी पाँच प्रतिशत लालबन्दीबाट निकासी भएको हो।

साउन ९, २०७९ सोमबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।