राष्ट्रिय सभामा नागरिकता विधेयक टेबुल

काठमाडौंः राष्ट्रिय सभाको आजको बैठकमा दुई वटा विधेयक टेबुल भएको छ। बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई सभामा टेबुल गरेका हुन्।
यस्तै उनले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभा पठाइएका ‘नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष पेश गरे।
बैठकमा खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधेयक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे।
आजको पहिलो बैठक १० मिनेटका लागि स्थागित भएर अहिले दोस्रो बैठक सुरु भएको छ। यसमा नागरिकता विधेयकमाथि छलफल भइरहेको छ।
साउन ९, २०७९ सोमबार ११:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।