भारतको वथनाहबाट नेपालको विराटनगरसम्म कार्गो रेल्वे सञ्चालन हुने

काठमाडौंः भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे सञ्चालनमा आउने भएको छ। निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी दिएका हुन्।
छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे सञ्चालनले राहत दिने बताए।
डिभिजनल मेनेजर चौधरीले १८.६ किलोमिटर लम्बाइ भएको वथनाह-विराटनगर रेल्वे नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएको १० देखि १५ दिनमा सञ्चालनमा ल्याउन सकिने बताए।
यता, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशीय व्यापार विस्तारका लागि रेल सञ्चालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्माणको क्रममा देखिएका बाधा समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटा, उद्योगी राकेश सुराना, नन्दकिशोर राठी, पारस लुनियासहित भारतीय रेल्वे, जोगवनी आइसीपी, नेपाल रेल्वे विभाग, नेपाल आईसीपीका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।
साउन ९, २०७९ सोमबार १०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।