कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु, थप ३४७ जना सङ्क्रमित

कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु, थप ३४७ जना सङ्क्रमित

काठमाडौंः देशभर पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा दुई जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा तीन हजार ८८८ जनाको नमूना परीक्षण गरिएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा ९५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

हाल सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ७८ हजार २२८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १७७ रहेको छ।

यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या हाल ११ हजार ९५६ पुगेको छ।

हाल ५०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौं, २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा ललितपुर र मोरङ रहेका छन्। शून्य सङ्क्रमित रहेका जिल्लाहरूमा मनाङ, मुस्ताङ, जाजरकोट, कालीकोट, मुगु, हुम्ला, बाजुरा र डढेलधुरा छन्।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा एक हजार ७६३, ललितपुर ३१३ र भक्तपुरमा ८९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल कुल सङ्क्रमणदर १७ प्रतिशत रहेको छ। प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ४०९ दशमलव पाँच रहेको छ।

साउन ८, २०७९ आइतबार २१:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।