विपद् व्यवस्थापन प्राधिकरणलाई आईएमई मोटर्सले दियो 'विपद् सामूहिक उद्धार भेहिकल'

काठमाडौंः आईएमई मोटर्स प्रालिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 'विपद् सामूहिक उद्धार भेहिकल' हस्तान्तरण गरेको छ। प्राधिकरण र गृह मन्त्रालयको संयुक्त आयोजनामा आयोजित एक कार्यक्रमकाबीच आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा यस्ता उद्धारमा प्रयोग गरिने गाडी गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन्।
मन्त्री खाँणले त्यसपछि उद्धारमा प्रयोग हुने गाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरे।
कार्यक्रममा गृहमन्त्री खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद्बाट बच्न विपद् हुनुअघिबाटै आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताए। यस्तै आईएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो गाडी रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग पुग्ने बताए।
यस गाडीमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्धार गर्न सकिन्छ। यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाएको छ।
यिनमा मिनी–अस्पताल प्रकारका उपकरणहरू हुन्छन्। यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा छन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गृह सचिव टेकनारायण पाण्डेलगायत अन्य उपस्थित थिए।
साउन ८, २०७९ आइतबार १३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।