पाँचपोखरीमा दुई वर्ष कोरोनाले रोकिएको जनैपूर्णिमा मेला यस वर्ष लाग्ने

पाँचपोखरीमा दुई वर्ष कोरोनाले रोकिएको जनैपूर्णिमा मेला यस वर्ष लाग्ने

काठमाडौंः कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष रोकिएको जनैपूर्णिमा मेला यस वर्ष लाग्ने भएको छ। सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको हो।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले यसबारे जानकारी दिएका हुन्। यस वर्षको जनैपूर्णिमा यही साउन २७ गते परेको छ। समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँच वटा ताल रहेका छन्।

संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो। इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी रहेका छन्। पाँचपोखरीमा एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ । मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौं उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन्।

अहिले पाँचपोखरीसम्म पुग्ने बाटो निर्माण, सूचनापाटी राख्ने तथा ताल संरक्षणको काम गरिएको पाँचपोखरी थाङ्पाल गाँउपालिका–३ भोताङका अध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिए। भोताङपछि विभिन्न स्थानमा होमस्टे रहेकाले खान, बस्न समस्या नहुने उनले बताए।

पाँचपोखरी आसपासमा आमायाङरी, ड्रयागन गुफा, हवेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, ज्योवाथान डाँडालगायत जुगल हिमाल, दोर्जे लाक्पा हिमालसमेत रहेका छन्।

साउन ८, २०७९ आइतबार ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।